Need Help ?
Call: +977- 083520249

जिल्लाको बारेमा

जिल्ला शिक्षा कार्यालय सुर्खेतको Website मा यहाँहरुलाई हार्दिक स्वागत छ !!!

नेपालको मध्यपश्चिमाञ्चल विकासक्षेत्र अन्तर्गत भेरी अञ्चलमा पर्ने पाँच वटा जिल्लाहरूमध्ये सुर्खेत एउटा  जिल्ला हो । भेरी अञ्चलमा अवस्थित जिल्लाहरूमध्ये सुर्खेत जिल्लाको आफ्नै विशिष्ट पहिचान र आर्थिक, सामाजिक हैसियत रहेको छ । नेपालको मानचित्रमा यसको फैलावट २८ ” २०” देखि २८ ” ५८” उत्तरी अक्षांश र ८० ” ५९” देखि ८२ ” २” पूर्वी देशान्तरसम्म रहेको छ । समुद्र सतहबाट १९८ मी. (तातापानी) उचाइदेखि २,३६७ मी. (मटेला गुराँसे) उचाइसम्म यस जिल्लाको सतह रहेको छ । पूर्वबाट पश्चिमतर्फ साँघुरिएर फैलिएको सुर्खेत जिल्लाको कूल लम्बाइ ११० कि.मी. रहेको छ भने अधिकतम उत्तर–दक्षिणतर्फको चौडाइ ३० कि.मी. रहेको छ । जिल्लाको करिब १६ प्रतिशत भाग उपत्यकाभित्र र ८४ प्रतिशत भाग पहाडी क्षेत्रमा पर्दछ । यस जिल्लाको पूर्वमा सल्यान, पश्चिममा डोटी र अछाम, उत्तरमा जाजरकोट र दैलेख र दक्षिणमा बर्दिया र कैलाली जिल्लाहरू पर्दछन् । जिल्लाको कूल क्षेत्रफल २,४५१ वर्ग किलोमिटर अर्थात २,४९,०१६ हेक्टर रहेको छ । सुर्खेत जिल्लाको क्षेत्रफलले देशको कुल क्षेत्रफलको १.६६ प्रतिशत भाग ओगटेको छ । सहरी क्षेत्रफल ३४ वर्ग कि.मी. र ग्रामीण क्षेत्रफल २,४१७ वर्ग कि.मी. रहेको छ ।

 सुर्खेत जिल्लामा हाल ४८६ वटा बालविकास केन्द्रहरु संचालनमा रहेका छन् । यी मध्ये ३९७ विद्यालयमा आधारित र ८९ समुदायमा आधारित रहेका छन् । कक्षा १ मा बालविकास केन्द्रको अनुभव सहित भर्ना हुन आउने विद्याको प्रतिशत ७४ रहेको छ । आधारभूत तहमा अध्यापन गर्ने शिक्षक संख्या हाल जम्मा १८५२ रहेको छ । यस अन्तरगत १३४२ जना शिक्षकहरु स्वीकृत दरबन्दीमा र ५१० जना शिक्षकहरु शिक्षक अनुदान कोटा ( राहत कोटा ) मा कार्यरत रहेका छन् । यसमा स्थानीय श्रोतबाट तलव भत्ता खाने र प्रति विद्यार्थी प्रदान गरिने अनुदान ( पी.सी.एफ् ) बाट तलव भत्ता खाने शिक्षक संख्या समावेस गरिएको छैन । शैक्षिक सत्र २०७१ को Flash II को  तथ्यांकअनुसार आधारभूत तहको कक्षा १—५ मा अध्ययनरत विद्यार्थी संख्या छात्र २८७०३ र छात्रा २६८३८ गरी जम्मा ५५५४१ रहेको छ । यसै गरी कक्षा ६—८ मा अध्ययनरत विद्यार्थी संख्या छात्र ४३५५७ र छात्रा  ४०४९६ गरी जम्मा ८४०५३ रहेको छ । यस अनुसार आधारभूत तहमा सुर्खेत जिल्लाको समग्र शिक्षक विद्यार्थी अनुपात १:३८ रहेको देखिन्छ । सुर्खेत जिल्लामा हाल संचालनमा रहेका सबै ५१९ सामुदायिक विद्यालयहरुमा आधारभूत तहका कुनै न कुनै कक्षाहरु

संचालनमा रहेका छन् । यस मध्ये कक्षा १—३ मात्र संचालित विद्यालयहरु ७८ रहेका छन् भने कक्षा १—५ संचालित विद्यालयहरुको संख्या २८१ रहेको छ । यसै गरी आधारभूत तहका सबै कक्षाहरु (१—८) संचालनमा रहेका विद्यालयहरुको संख्या ८३ रहेको छ । माध्यमिक विद्यालयको रुपमा संचालित अन्य ७९ वटा विद्यालयहरु मध्ये ७२ मा कक्षा १—८ र ७ वटामा कक्षा ६—८ संचालनमा रहेको छ । सुर्खेत जिल्लामा माध्यमिक तह संचालित सामुदायिक विद्यालयहरुको संख्या ८५ रहेको छ । माध्यमिक तहका कक्षाहरु (९—१२ ) संचालित विद्यालयहरुलाई अन्य तहका कक्षाहरु समेत संचालन भएको हिसाबले तीन भागमा बांड्न सकिन्छ। यसमा कक्षा १—१० संचालित विद्यालय संख्या ४० कक्षा १—१२ संचालित विद्यालय संख्य ३८, कक्षा ६—१२ संचालित विद्यालय संख्या ६ र ९ देखी १२ सम्म सञ्चालन भएको विद्यालय संख्या १ रहेको छ । संस्थागत तर्फ उमावि र मावि गरी ३० वटा विद्यालयहरुमा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएको छ ।सुर्खेत जिल्लामा माध्यमिक तहको स्वीकृत शिक्षक दरबन्दी (कक्षा ९—१० को लागि ) १५६ रहेको छ र शिक्षक अनुदान कोटा ( राहत ) मा कार्यरत शिक्षक संख्या १०८ रहेको छ । हालको उच्चमाध्यमिक तह संचालनको लागि विद्यालयहरुलाई प्रदान गरिएको शिक्षक

अनुदान कोटाको संख्या ५६ रहेको छ । यस प्रकार माध्यमिक तहको जम्मा शिक्षक संख्या २६४ रहेको देखिन्छ । यसै गरी शैक्षिक सत्र २०६९ को तथ्यांक अनुसार कक्षा ९—१० मा अध्ययनरत विद्यार्थी संख्या १२०७३ र कक्षा ११—१२ मा अध्ययनरत विद्यार्थी संख्या १०१५५ रहेको छ । माध्यमिक (९—१२) तहको शिक्षक विद्यार्थी अनुपात १:६९ रहेको छ । सुर्खेत जिल्लामा माध्यमिक तहको कक्षा संचालन भएका विद्यालयहरुको संख्या १२४ रहेको छ ।

सुर्खेत जिल्लामा वि.सं. २०३८ मा पब्लिक हाइस्कूल (हालको जन माध्यमिक विद्यालय ) मा स्थापना गरिएको वीरेन्द्रनगर वहुमुखी क्याम्पस संगै उच्च शिक्षाको अध्यापन सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन लिई स्थापना भएको यस क्याम्पसमा माविकी संकाय अन्तरगत प्रविणता प्रमाणपत्र तहको अध्यापनबाट कक्षा सुरु गरिएको थियो । हाल आएर जिल्लामा एउटा विश्वविद्यालय र ६ वटा क्याम्पसहरु संचालनमा रहेका छन् ।

सुर्खेत जिल्लाको हालको साक्षरता प्रतिशत९६.२६ रहेको छ जसमा महिला ९३.५२ प्रतिशत र पुरुप ९९.२१ प्रतिशत साक्षर रहेका छन् । केन्द्रको नीति अनुसार यस जिल्लामा पनि सरकारी तथा गैर सरकारी निकाय मार्फत अनौपचारिक शिक्षाका विभिन्न साक्षरता कार्यक्रम विगत देखि नै संचालित हुंदै आएका छन् । आ.व. २०६६/०६७ देखि निरन्तर साक्षरता अभियान कार्यक्रम समेत संचालन  मिति २०७२ जेठ २५ गते साक्षर सुर्खेत घोषणा भैसकेको छ ।  । न्यून आय भएका र साक्षरता कार्यक्रम पहिलो र दोश्रो तहबाट साक्षर भएका महिलाहरुको लागि आत्म निर्भर बनाई जीवनस्तर उठाउन यो कार्यक्रम संचालन गरिदै आएको छ । सुर्खेत जिल्लमा आ.व. २०५७/०५८ देखि लाटीकोइली गा.वि.स.बाट बाख्रापालन ८ समुह ४८ जना र तरकारी खेती ६ समुह ३६ जनाबाट सुरु गरिएको यो कार्यक्रम हाल २५ वटा सामुदायिक अध्ययन केन्द्र मार्फत प्रति समुह ९ जनाको दरले करिब ४०० समुहमा संचालन भइरहेको छ । सुर्खेत जिल्लामा लाटिकोइली, उत्तरगंगा, रामघाट, अवलचिङ, छिन्चु, मैनतडा, मेहेलकुना, सहारे, काफलकोट, मटेला, रानीबास, साटाखानी, विनपा १ र ११, बाबियाचौर, गुटु, सालकोट, लेखपराजुल, घाटगाउं, गर्पन र कुनाथरी, वेतान, घुमखहरे, डाँडाखाली र काप्रीचौर  गाविसमा २५  वटा सामुदायिक अध्ययन केन्द्रहरु स्थापना गरिएका छन् । सामुदायिक अध्ययन केन्द्रहरु मार्फत हाल सम्म जम्मा २८९ वटा आयआर्जन समूहले सीड मनी सहित विभिन्न आय आर्जनका विविध क्रियाकलापहरु सञ्चालन भैरहेका छन् ।

विद्यालय शिक्षामा प्रवेश गरेर विभिन्न कारणले आधारभूत तह पुरा नगरी छाडेका वा अनौपचारिक शिक्षाबाट साक्षर भएका गृहिणीहरुलाई औपचारिक शिक्षा पुरा गराउने उद्देश्यले आ.व २०६५/०६६ देखि गृहिणी विद्यालयको कार्यक्रम संचालन गरिएको छ । हाल सुर्खेत जिल्लामा हस्तवीर प्राथमिक विद्यालय चनौटे, वी.न.पा. ११ र विद्याज्योति उच्च मा.वि. बाबियाचौरमा गरी दुईवटा आधारभूत (कक्षा १—८ ) गृहिणी विद्यालयहरु संचालनमा रहेका छन् । सुर्खेत जिल्लामा वि.स. २०५१ साल देखि विशेष शिक्षाको कार्यक्रम जिल्लाका केहि श्रोतकेन्दमा संचालनमा ल्याएको पाइन्छ । हाल जिल्लाका तपसिलका १० विद्यालयमा आवसीय रुपमा स्रोत कक्षा संचालनमा रहेका छन् । सुर्खेत जिल्लामा पूर्व प्राथमिक देखि उच्च माध्यमिक तह सम्मको पठन पाठन गराउने निजी लगानीमा खुलेका संस्थागत विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालयहरुलाई कम्पनी र गुठी गरी दुई प्रकारले संचालन गर्न सकिने प्रावधान शिक्षा नियमावलीले राखेको छ । यस जिल्लामा हाल संचालनमा रहेका १०६ संस्थागत विद्यालयहरु मध्ये ४ विद्यालय शैक्षिक गुठी अन्तरगत र बांकी  विद्यालय कम्पनी ऐन अन्तरगत संचालन गरिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ( CTEVT ) का आंगिक प्राविधिक शिक्षालयहरु नभएका जिल्लाहरुमा सामुदायिक माध्यमिक विद्यालयहरुमा एनेक्स कार्यक्रम मार्फत प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउने नीति अनुसार सुर्खेत जिल्लाको जन ज्योति माध्यमिक विद्यालय बड्डीचौर, कुनाथरीमा २०६७ साल देखि १५ महिने कृषि जे.टी.ए कार्यक्रम संचालन भइरहेको छ । त्यसै गरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदबाट सम्बन्धन लिई निजी क्षेत्रबाट विभिन्न विषयको प्राविधिक शिक्षाका कार्यक्रमहरु संचालन गर्ने संस्थाहरुको संख्या सुर्खेतमा पांचवटा रहेको छ । यी मध्ये एउटामा सामान्य चिकित्सा र नर्सिङ विषयको डिप्लोमा/प्रमाणपत्र तहको कार्यक्रम संचालनमा रहेको छ भने अन्य चारवटामा टीएस्एल्सी तहको चिकित्सा (सीएमए), पशु चिकित्सा, प्रयोगशाला, सिभिल इन्जिनियरिङ, जुनियर कम्प्युटर टेक्नीसियन विषयका कार्यक्रमहरु संचालनमा रहेका छन् । यी सबै शिक्षण संस्थाहरु वीरेन्द्रनगरमा संचालनमा रहेका छन् । शैक्षिक सत्र २०७० देखि जिल्लाको नेराउमावि बडाखोली र शिव उमावि लाटीकोइलीमा कक्षा ९ देखी प्राविधिक तथा व्यावसायिक शिक्षा धारको पाठ्यक्रम अन्तर्गतका कक्षाहरु सञ्चालन भईरहेको छ । हाल ती विद्यालयहरुमा कक्षा ११  र १२ सम्म त्यही विषयलाई निरन्तरता दिइएको छ  । 

यस जिल्लाको कक्षा ८ र एस्.एल्.सी.परीक्षाको नतिजा विश्लेषण गर्दा शैक्षिक उपलब्धि खासै सन्तोषजनक देखिदैन । विद्यालयहरु हड्ताल लगायत विभिन्न कारणले तोकिएको अवधिभर पठन पाठन संचालन हुन नसकी कोर्स पुरा नहुनु यसको मुख्य कारण देखिएको छ । शैक्षिक सत्र २०६७ मा कक्षा ८ को विद्यार्थी उत्तीर्ण प्रतिसत ८२, शैक्षिक सत्र २०६८ मा ७२ प्रतिशत र २०६९ सालमा ७६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको देखिन्छ भने एस्.एल्.सी.को उत्तीर्ण प्रतिशत वि.सं. २०६७, २०६८, २०६९ र २०७०  सालमा क्रमश: ४१.३, २१.३७, २८.४३ र ४२ प्रतिशत रहेको छ । शिक्षा विभागले नै नेपालको पहिलो अनिवार्य शिक्षा घोषणा भएको गा.वि.स.को रुपमा मान्यता प्रदान गरेको गर्पन गा.वि.स.मा गठित गाउं शिक्षा समितिले मिति २०६५/४/३१ गते प्राथमिक तहको शिक्षालाई निशुल्क तथा अनिवार्य घोषणा गरे पछि यो लहर अन्य गा.वि.स.हरुमा पनि फैलियो । यसैको फल स्वरुप २०६६/५/२२ मा दशरथपुर, २०६७/५/२९ मा कुनाथरी र २०६७/९/९ मा रामघाट गा.वि.स.ले आधारभूत तहको शिक्षा निशुल्क र अनिवार्य घोषणा गरे । यस प्रकार चारवटा गा.वि.स.मा पहिले नै आधारभूत शिक्षा निशुल्क तथा अनिवार्य घोषणा भइसकेको सुर्खेत जिल्लामा शिक्षा विभागले कार्यक्रम परिक्षणको रुपमा लागु हुने २० जिल्लाको राष्ट्रिय स्तरको अभिमुखिकरण गोष्ठी २०६८ आषाढ महिनामा संचालन गरी अनुभव आदान प्रदानको अवसर प्रदान गरेको थियो । यसरी आ.व. ०७१/०७२ मा २०७२ जेठ २५ गते सुर्खेत जिल्लालाई नै नेपालको पहिलो अनिवार्य आधारभूत शिक्षा प्रदायक जिल्ला घोषणा भैसकेको छ । स्मरण रहोस् हाल सुर्खेत जिल्लामा ५ देखि १२ वर्षका आधारभूत तहका (कक्षा १-८ सम्मका) कूल ९८ प्रतिशत बालबालिकाहरु विद्यालयमा भर्ना भई अध्ययन गरिरहेका छन् । प्रत्येक गाउ/नगर शिक्षा समितिबाट अनिवार्य आधारभूत शिक्षा प्रदायक गाउ/नगर शिक्षा समितिवाट घोषणा भैसकेपछि मात्र जिल्ला घोषणा भएको हो ।सुर्खेत जिल्ला मिति २०७० फाल्गुण १७ गतेका दिन जिल्लाका सबै विद्यालयहरु शान्ति क्षेत्रको रुपमा घोषित भैसकेका छन् । सबै सरोकारवालाहरुको सहभागिता तथा सकारात्मक सहयोगका कारण यहाँ कुनै पनि बन्द हडताल वा आन्दोलनहरुमा विद्यालयहरु बन्द नभई सुचारु रुपमा सञ्चालन हुने गर्दछन् । यो पनि सुर्खेत जिल्लाको विशेषता हो ।